Sunday, April 29, 2012

हामी भित्रका डाक्टरहरु/ Doctors within Us


हामी हरेक भित्र विभिन्न प्रकारका गुण, अवगुणहरु रहेका हुन्छन्। डाक्टरहरु पनि मानिस नै हुन् र यी विभिन्न खालका बानी, गुणहरुबाट हामी पनि अछुतो रहन सक्दैनौ। यिनै कुराहरुलाई आधार मानेर र समेटेर यो व्यंग्यात्मक लेख लेखिएको छ।

यो पूर्णरुपमा काल्पनिक लेख हो, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। 


डा. दधिची
धनी परिवारमा जन्मेका उनी कहिल्यै डाक्टर बन्छु भन्ने सोचेका थिएनन्, तर बुवाले उनलाई डाक्टर बनाउन खुबै खर्च गरे, शायद त्यसैको असुल गरिरहेका हुन् कि भन्ने शंका लाग्ने, व्यापारिक पृष्टभूमीमा हुर्किएका जसका गुणहरु उनमा अझै देखिन्छन्, महंगो गाडी चढ्छन्, क्लिनिकमा टिकट नकाटी त विरामीसँग बोल्न पनि मान्दैनन्, उनका नियमित विरामीहरु प्राय: धनाढ्य परिवारकै हुन्छन्।


डा. दूर्वासा
नामै अनुसारका, जो कोही उनीसँग बोल्न पनि नसक्ने, नाकैमा रिस झुण्डिएको झै लाग्ने, क्लिनिकमा हरेक कुरा मिलेको हुनुपर्ने, विरामीले केही सोध्यो भन्यो भने "तपाईं डाक्टर की म डाक्टर" भनेर थर्काइ हाल्ने, बेलाबेलामा झण्डझण्डै कुटाई खानबाट बचेका, त्यही पनि सुध्रिने कुनै छाटकाट नदेखिएको, प्राय: एक्लै बस्न मन पराउने, परिवारको बारेमा कसैलाई पनि थाहा नभएको र सोध्ने हिम्मत त कसले गरोस्, हार्ड ड्रिन्क्सका शौखिन।


डा. वैध
शान्त स्वाभावका विस्तारै बोल्ने, कहिल्यै नरिसाउने, प्राक्टिस गर्न थालेको १५-२० वर्ष भैसक्यो अझै पनि उनी स्कुटरमै दौडिरहन्छन्, एलोप्याथीक औषधी भन्दा आर्युवेदिक औषधी, प्राकृतिक चिकित्सा बढी मन पराउने, विरामीहरुलाई बेलाबेला योगा पनि सिकाइरहेका हुन्छन्, प्रेसरका विरामीलाई करेला खाने, निमपत्ता खाने सल्लाह दिइरहेका हुन्छन्, एउटै विरामी हेर्न आधा घण्टा लगाइदिने, धर्ममा प्रगाढ आस्था राख्ने, उनको क्लिनिकको कोठामा पनि भगवानका प्रशस्तै फोटाहरु सजाइएका छन्।


डा. एम आर
भर्खरै किनिएको नयाँ कारमा दौडन्छन् उनी, पटकपटक महंगा मोबाइल पनि फेरिरहेका हुन्छन्, बेलाबेलामा विदेश भ्रमणमा पनि निस्कन्छन्, गफ निकै मिठो गर्ने तर औषधी चाहीं अलि बढि लेख्छन् भन्ने विरामीहरु गुनासो गर्छन्, सधैं स्मार्ट भएर चिटिक्क परेर बस्ने, साथमा जहिले १-२ जना एमआर/MR अर्थात मेडिकल रिप्रेजेन्टेटिभ लिएर हिड्ने, जसले उनको पीए को जस्तो काम गरिरहेका हुन्छन्, उनको घरमा हरेक महिना महंगा नयाँनयाँ सामान औषधी कम्पनीबाट सिधै डेलिभरी हुन्छ भन्ने हल्ला सुनिन्छ।


डा. के के
केके अर्थात् किरणकुमार, प्रख्यात सर्जन/चिरफार रोग विशेषज्ञ, तर सबै उनलाई 'कसाइँ कुमार' भन्छन, अप्रेशनको साह्रैं राम्रो स्किल भएको तर हरेक रोगको उपचार सर्जरी नै हो भन्ने मान्यता भएका, उनकोमा गएको विरामी शायदै अप्रेशन विना फर्कन्छन् रे, विरामीसँग कमै बोल्ने र बाहिर भन्दा ओ टी मा रमाउने, आफ्नो ठाँउको हरेकको एपेन्डिक्स र पित्तथैलि उनले निकालिसके भन्ने हल्ला बजारमा सुनिने, पैसाको खासै लोभ नगर्ने बेलाबेलामा गरिब विरामीको सित्तैमा पनि अप्रेशन गरिदिन्छन् रे।


डा. बि जी
बिजी अर्थात् बिजय जीसी तर डा बिजी भनिन रुचाउने, हुन पनि उनी सधैं बिजी नै हुन्छन् अथवा देखिन्छन्, हिडिरहेका हुन् की दौडिरहेका छुट्याउन गाह्रों पर्छ, सधैं मोबाइलमा बोलिरहेका हुन्छन्, विरामी हेर्दा पनि उनको मोबाइल बजि नै रहेको हुन्छ, सधैं हतारमा देखिन्छन्, प्राय: १-२ घण्टा ढिलो क्लिनिक आउँछन् र आउने बित्तिकै सबैलाई अत्याइदिन्छन्, हरेक कुरा टाइममा हुनुपर्छ उनलाई, आफू बाहेक। एउटा विरामीसँग मुस्किलले १-२ मिनेट बोल्छन् होला, विरामीले केही कुरा भन्न लागे "यो औषधी खानुस्, नभए फेरी भेटौला" भन्छन्, बिहान छ बजे निस्केर सबै क्लिनिक भ्याएर उनी रातको १० बजे घर फर्कन्छन् भन्ने सुनिन्छ।


डा. पी पी
पीपी अर्थात् प्रेम प्रसाद तर सबैले उनलाई पीपी अर्थात् 'परिक्षणप्रसाद' भनेर चिन्छन् विरामीको समस्या सुन्न भन्दा बढी परिक्षण अर्थात इन्भेस्टिगेसन/investigation गर्न रुचाउछन्, "जाँचको रिपोर्ट हेरेपछि विरामी किन हेर्नुपर्यो" भन्छन्, हरेक टाउको दुखाईका लागि सिटी स्क्यान र पेट दुखाईका लागि भिडियो एक्स रे उनको मुखमै झुण्डिएको हुन्छ, अलि शंकालु पाराका उनी हरेक सानो कुरामा पनि ठूलो
समस्या लुकेको हुन्छ भन्ने विश्वास राख्छन्।


डा. मै हु
खासमा उनको नाम महम्मद हुसेन हो तर डा मैहुँ का नामले उनी प्रख्यात वा भनौं कुख्यात छन्, मेडिकल प्राक्टिसको २०-२५ वर्ष भैसकेका उनी आफ्नो ठाँउका नामुद डाक्टर हुन्, जमानामा उनको मात्रै बोलबाला रहेको थियो, उनको कम्पिटिसनमा आउनसक्ने कोही थिएन, आजभोलि भने नयाँ प्रतिस्पर्धीहरु आउन थालेका छन् तर उनमा पहिलेको घमण्ड घट्नुको साटो झन बढेर गएको छ, कसैलाई मान्छे गन्दैनन्, विरामीलाई छुन पनि खोज्दैनन्, "म जस्तो एक्सपिरियन्सड डाक्टरले विरामी जाँच्नै पर्दैन, हेरेरै रोग पत्ता लगाइदिन्छु" भन्छन् रे, क्लिनिकमा आफ्नो लागि आरामदायी सोफा तर विरामीका लागि सानो स्टुल राखेका छन्।


डा. साइनो
उनको बानीका कारणले उनले यो उपनाम पाएका हुन्, विरामी प्राय:लाई उनी साइनो लगाएर मिठो कुरा गर्छन्, आफ्नै उमेरकालाई साथी, अलिकती बढीकालाई दाईदिदी, बुढाबुढीलाई बुवाआमा, सानालाई नानी, बाबु भनेर साईनो लगाइहाल्छन, मजाले टाइम दिएर विरामीका समस्या सुन्छन्, उनका विरामीहरु उनीदेखि सन्तुष्ट पनि छन्, दुई सन्तानका बुवा उनको पारिवारिक जीवन पनि सुखी छ, उनका विरामीहरु "उनको औषधीले भन्दा मिठो कुराले बढि रोग निको पारेको हो" भन्छन्, एक पटक उनकोमा गएको विरामी उनले रिफर नगरेसम्म शायदै अर्को डाक्टरकोमा पुग्छन्।

डा. वक्र
नाम अनुसारकै काम गर्ने उनको व्यवहार पनि त्यस्तै छ, डाक्टरी कम र राजनिती बढी गर्ने उनी अरु डाक्टरका कुरा काट्न, अरुलाई गाली गर्न पनि खप्पिस छन्। अरुले लेखेको औषधी काट्दिने, विरामीको अघी अरु डाक्टरलाई होच्याउने उनी आफूले लेखेको औषधी बाहेक अरु औषधी नखान कडा चेतावनी दिन्छन् रे। बेलाबेलामा डाक्टरी संघको चुनावमा उठेका उन्ले जित्न भने कहिल्यै सकेनन्, तैपनी अझै 'बर्न टु बि पोलिटिसियन' जस्तो कुरा गर्छन्।

माथिका उदाहरणहरु हामीमा भएका मानवीय गुण, अवगुणहरुको उच्चतम विन्दुका उदाहरणहरु 'एक्स्ट्रिम एक्जाम्पलहरु' हुन्। हामी सबैमा यसका केही अंशहरु, कसैमा कुनै बढि, कसैमा कुनै बढि पाउँछौं। अरुले पनि विरामी भएर वा विरामी लिएर डाक्टरलाई भेट्दा डाक्टरहरुमा माथिका जस्ता डाक्टरका केही अंशहरु भेट्नुभएकै होला। यी उदाहरणहरु हामी भित्रको मानवीय गुण, अवगुणहरुको चित्रण हो, आशा छ यसले हामीलाई आफ्नो बारेमा सोच्न, बुझ्न, आफ्नो दृष्टिकोण र विरामीप्रतिको व्यवहार बुझ्न र परिमार्जन गर्न सहयोग गर्नेछ।

यो लेख प्रोफेसर जोन मुर्ताघ/John Murtagh को पुस्तक 'जेनेरल प्राक्टिस/General Practice' मा भएको लेखबाट प्रभावित भएर त्यसलाई हाम्रो वातावरणमा ढालिएर लेखिएको हो।

बाँकी पढ्नुहोस् >>

Saturday, April 21, 2012

नेताको उपचार विदेशमा, जनताको?

केही दिन अघि माओवादीका नेता जनार्दन शर्मालाई एयर एम्बुलेन्स(हेलिकप्टर)मा राखेर उपचारका लागि भारत लगियो। काठमाडौंको त्रिवि शिक्षण अस्पतालको सधन उपचार कक्षमा राखी केही दिन उपचार गरिएको उनलाई ९०% जापानिज इन्सेफलाइटिस भएको शंका थियो र रोग कन्फर्म गर्न र अरु उपचार गर्न 'शायद' नेपालमा नसकिएर भारत लगिएको थियो। 

एमालेका अध्यक्ष झलनाथ खनालको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया भारतको अपोलो अस्पतालमा गरियो। जबकी प्रोस्टेटका विभिन्न प्रकारका उपचार पद्धतीहरु हाम्रै देशमा उपलब्द छन्। 

एमालेकै अर्का नेता केपी शर्मा ओली मृगौला सम्बन्धी रोगी छन् र बेलाबेलामा भारतमा स्वास्थ्य जाँचका लागि पुगिरहेका हुन्छन्। 

उपप्रधानमन्त्री विजयकुमार गच्छदार आँखाको समस्याको उपचारका लागि भनेर भारत पुगेका थिए, जबकी सबैलाई थाहा छ आँखाको समस्याका लागि उच्च स्तरिय अस्पताल र ख्यातिप्राप्त डाक्टरहरु हाम्रै देशमा पनि छन्। 

यो अहिले शुरु भएको चलन भने होइन, पहिले पनि तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई बेलाबेलामा उपचारको लागि विदेश लगिने गरिन्थ्यो। र अरु पनि विभिन्न नेताहरु उपचारका लागि विदेश जाने गर्थे र गरिरहेका छन्। 

एउटा विरामीको उपचार गराउँदा पनि विरोध गर्ने म यहाँ सम्वेदनाहीन व्यक्ति जस्तो देखिनसक्छु, डाक्टरको नाममा ढोंग देखिनसक्छु। तर हामीहरु धेरैलाई थाहा नहुनसक्छ जापानिज इन्सेफलाइटिसको उपचार 'सर्पोटिभ/Supportive' मात्रै हो अर्थात् यसको ठ्याक्कै औषधी हुदैंन र विरामीको अवस्था अनुसार उसमा देखिएको समस्या अनुसार उसको उपचार गर्दैजाने हो। र जस्तोसुकै सिकिस्त विरामीको सर्पोटिभ उपचार गर्ने सुविधायुक्त सधन उपचार कक्ष/आइसीयुहरु, सम्बन्धित विशेषज्ञहरु हाम्रो देशमा नभएका जस्तो त मलाई लाग्दैन। 

यसो भनेर मैले कुनै व्यक्ति विशेष वा कुनै पार्टीका नेतालाई मात्र आक्षेप लगाउन खोजेको होइन, न त उनीहरुलाई कुनै पनि अवस्थामा सरकारी पैसा खर्च गरी विदेशमा उपचार गर्ने व्यवस्था गर्नुहन्न भन्न खोजेको नै हुँ। 

मैले त नेपालमा उपचार सम्भव हुँदाहुँदै पनि, नेपालमा भन्दा विदेशमा हुने उपचारले परिणाममा खासै फरक नपर्ने अवस्थामा पनि र सम्बन्धित रोग वा अवस्थाका विशेषज्ञ डाक्टर र उपचार आफ्नै देशमा पाइने अवस्थामा पनि सरकारी ढुकुटी खर्च गरेर विदेशमा उपचार गर्न जाने प्रवृतिको विरोध गरेको हुँ। देशको लागि काम गर्ने, सार्वजनिक हितमा लागेका व्यक्तिहरु (नेताहरु मात्र नभई कलाकार, खेलाडी, साहित्यकार आदी) सबै देशका सम्पत्ति हुन्। उनीहरुलाई आवश्यकता पर्दा देशले हेर्नुपर्छ। तर सरकारी पैसा त जाने हो नि भनेर नेपालमै गर्न सकिने उपचारमा पनि यहाँको डाक्टर उपचारलाई विश्वास नगरी विदेशतिरै दौड्नुपर्ने भनेको त 'नजिकको जोगी गिद्ध, टाढाको जोगी सिद्ध' भन्ने उखान जस्तै हो। आफ्नै घरको क्षमता र विकासमा विश्वास नगर्ने, आफ्नै विशेषज्ञहरुको कार्यक्षमता, दक्षताप्रति शंका गर्ने परम्परा हो। 

यो हाम्रा नेताहरुमा मात्र देखिएको प्रवृति भने होइन, एकछिन विचार गर्यो भने यो हामीमा पनि केही मात्रामा भएको पाउँछौं। फरक यत्ति हो कि उनीहरु यसका लागि सरकारी सम्पत्ति प्रयोग गर्छन्, हामी व्यक्तिगत। यो प्रवृति सरकारी स्कुलका टिचरहरुले आफ्ना छोराछोरीलाई चाँही महंगा बोर्डिङ स्कुलमा भर्ना गराएको जस्तै होइन त?

यो चलन, प्रवृति तपाईंहरुलाई कस्तो लाग्छ?
बाँकी पढ्नुहोस् >>

Thursday, March 22, 2012

अनौठो मनोरोग: कन्भर्सन डिसअर्डर/Conversion Disorder


रमाको विवाह भएको १ वर्ष भयो। उनी २५ वर्षे युवती हुन्। श्रीमान साउदी अरवमा काम गर्न गएका ६ महिना जति भयो, उनी अहिले आफ्नो नन्द, देवर, सासूससूरासँग बस्छिन्। श्रीमानसँग फोनमा कुरा भइरहन्छ। गत १ महिनादेखि उनीमा एउटा नौलो समस्या देखिएको छ। उनी त्यतिबेला घरमै थिइन्, उनी एक्कासी काम्न थालिन् र बोल्न थालिन् "हेर, म देवी हुँ, तँलाई मार्छु, तँलाई खान्छु, मलाई पूजा गर, बलि चढा नत्र म तेरो सन्तानलाई नाश गरिदिन्छु" आदी इत्यादी। जुन करिब एक घण्टासम्म रह्यो, सारा मानिसहरु जम्मा भए, सबै छक्क परे। एक घण्टापछि उनी जस्ताको तस्तै भइन। कति मानिसले उनलाई 'बोक्सी' भने, कतिले 'देवताको रुप' भने, कसैले 'देवताको पूजा गरी बलि दिएमा निको हुन्छ' भने। तर उनको समस्या त्यसै निको भएकोले त्यो दिन केही गरिएन। तर भोलिपल्ट पर्सिपल्ट गर्दागर्दै पछि उनको समस्या दिनदिनै जस्तो देखिन थाल्यो। उनलाई धामीझाँक्री लगाइयो तर निको भएन। कुखुरा, बोका बलि दिइयो, त्यही पनि निको भएन। अहिले उनी अस्पतालमा मनोरोग विशेषज्ञसँग उपचार गराइरहेकी छिन्। उनको मनमा दविएका कुराहरु बाहिर निकाल्ने(pyschotherapy), साथै औषधीको प्रयोग गर्नाले उनको समस्या विस्तारै निको हुदैं गएको छ।

यस्तो रोगलाई कन्भर्सन डिसअर्डर(Conversion Disorder) भनिन्छ।

मनमा रहॆका आन्तरिक मानसिक पीडाहरु विभिन्न शारीरिक लक्षणका रुपमा बाहिर देखिने रोगलाई कन्भर्सन डिसअर्डर/Conversion Disorder भनिन्छ। हाम्रो समाजमा महिलाहरु खुल्लारुपमा आफ्नो समस्याहरु बताउन नसक्नु र पीडा सहेर बस्ने गर्नाले महिलाहरुमा यो रोग बढि देखिन्छ। त्यसो त पुरुषमा पनि यस्तो समस्या नदेखिने होइन। हाम्रो वर्षौंदेखिका तीतामिठा अनुभवहरु मस्तिष्कमा जम्मा भई बसेका हुन्छन्। कतिपय यस्ता समस्याहरु मनमा खुल्लारुपमा भने देखिदैनन् तर सपनामा वा अदृश्यरुपमा बोलीमा यी कुराहरु निस्कन्छन्। वास्तवमा यी बेहोसी मस्तिष्क/Subconscious mindमा रहेका पीडादायी कुराहरु बिरामीलाई बाहिरी रुपमा थाहा नहुन पनि सक्छ। त्यसैले अचानक यी पीडादायक कुराहरु एकाएक शारीरिक लक्षणका रुपमा देखिन थाल्छन्। जस्तै: अचानक बोली रोकिने, अचानक हातखुट्टा नचल्ने, काम्ने र देवता चढेको जस्तो बक्ने आदी।

यो रोग आफैंमा अनौठो मानिन्छ। किनभने बिरामीले केही समयको लागि अनौठो लक्षणहरु देखाउँछ र १-२ घण्टामा बिरामी जस्ताको तस्तै हुन्छ। जस्तै: कसैको अचानक खुट्टा नचल्ने (पारालाइसिस) भएर अस्पताल ल्याउनुपर्छ तर स्नायु प्रणालीको जाँच गर्दा, सबै अन्य जाँचहरु गर्दा, सिटी स्क्यान नै गरेर हेर्दा पनि उनमा केही खराबी देखिदैंन। तैपनि बिरामीले खुट्टा भने चलाउन सक्दैन। कोही अचानक बेहोस् हुने, काम्ने, फिज काड्ने पनि गर्ने गर्छन्। यसका लक्षणहरु अरु कसैको उपस्थितिमा मात्रै अर्थात् हेर्ने, देख्ने मान्छेहरु वरिपरि  भएको बेलामा मात्रै हुने गर्छ।

कतिपय यस्ता विरामीलाई बोक्सी लाग्यो भन्ने, कुखुरा, बोका बलि दिने चलन पनि छ, जुन ठिक होइन र एउटा अन्धविश्वास मात्र हो।

यो रोगका विरामीहरु कस्ताकस्ता लक्षणहरु लिइ अस्पताल आउँछन्?
यो रोग का लक्षणहरु विभिन्न थरिका हुनसक्छन।
विरामीले 'म अब फेन्ट हुनलागें भनेर अरुलाई बोलाउने र बेहोस हुने", उ बोल्न नसक्ने हुने तर अन्य जाँचहरु गर्दा सबै ठिक हुने। विरामी काम्ने, अर्कै मानिस, देवता जसरी बोल्ने, सिकिस्त विरामी जस्तै हुने, अहिले नै ज्यान जाला जस्तो गर्ने गर्छन्। फेरी केही समयपछि जस्ताको तस्तै हुने।
कोही विरामी अचानक आँखा नदेख्ने भएको बताउँछन्।
कोही विरामी हात वा खुट्टा नचल्ने, हिंड्न नसक्ने भएको बताउँछन्।
कोही विरामी शरीरको संवेदना थाहा पाउँदैनन्। जस्तै हातखुट्टामा छोएको थाहा नहुने।
कोही बोल्न सक्दैनन् र इशारामा कुरा गर्छन्।
कोही दमको रोगीको जस्तो छिटोछिटो श्वास फेर्छन्।
कोही विरामी केही समयका घटनाका बारेमा केही थाहा नभएको बताउँछन् अर्थात् स्मरण हराएको भन्छन्।
कोही विरामी अचानक अर्कै ठाँउमा पुग्छन् र त्यहाँ कसरी आएँ भन्नॆ कुनै जानकारी हुदैंन।
कोही विरामी भने उल्टो कुरा गर्ने गर्छन्। सोधिएको प्रश्नलाई बंगाएर उत्तर दिने सजिलो प्रश्नको उत्तर नदिने तर गाह्रो प्रश्नको उत्तर दिने झुटो बोलेको जस्तो गर्ने गर्छन्।

यो रोग किन हुन्छ?
मानसिक तनावहरु विभिन्न शारीरिक लक्षणहरुमा परिणत हुने/psychological stress converts to physical symptoms भएकोले यसलाई कन्भर्सन डिसअर्डर(Conversion Disorder) भनिएको हो। यो रोग मनमा धेरै कुरा राख्ने र मनको कुरा अरुलाई नभन्ने मानिसमा बढि पाइन्छ। प्रेशर कुकरमा हावा भरिएर चाप बढि भइ अचानक सिट्ठी बजेजस्तै मानिसमा हुने मानसिक तनावले पनि बाहिर निस्कने बाटोको रुपमा शारीरिक लक्षणहरु देखिन्छन्। बेहोसी मस्तिष्क/Subconscious mind वा भित्री मनमा रहेको अन्तरद्धन्द घटाउन गरिएको उपायको रुपमा यो रोगको लक्षणहरुलाई लिइन्छ। यो रोगले तत्कालीन तनावका साथै धेरै वर्ष अघिका तनावले पनि ल्याउनसक्छ।

पहिले यो रोगलाई हिस्टेरिया/Hysteria भनिन्थ्यो र यौनकुण्ठाका कारण यस्तो समस्या हुन्छ भनिन्थ्यो। तर यो कुनै पनि प्रकारका मानसिक तनावका कारण हुनसक्छ र महिलामा मात्र नभई पुरुषमा पनि यस्तो समस्या देखिनसक्छ। पुरै स्कुलका विध्यार्थीहरु अचानक बेहोस् हुन थालेको, देउता चढेको जस्तो बोल्न थालेको घटनाहरु बेला बेलामा समाचारमा सुन्न पाईन्छ, ती घटनाहरु यही रोगका कारण भएका हुनसक्छन। विकीपेडियाको यो लेख हेर्नुहोस्।

केही वर्ष अघि पुर्वी नेपालको एउटा स्कुलमा भएको 'मास हिस्टेरिया/Mass Hysteria' को बारेमा मनोरोग विशेषज्ञ डा. रवी शाक्यले लेख्नुभएको केस रिपोर्ट। यसबाट पनि यस्ता समस्या कसरी शुरु हुन्छ, कसरी फैलन्छ र कसरी उपचार गरिन्छ भनेर थाहा हुन्छ।

यहाँ बुझ्नु पर्ने कुरा के छ भने विरामीले जानीजानी यस्तो गरेका हुँदैनन, विरामीलाई किन यस्तो गरेको छु भन्ने थाहा नै हुँदैन। विरामीले नियन्त्रण गर्न खोज्दा पनि यस्तो लक्षण रोक्न सक्दैनन। बोक्सी लागेको हो भन्दै विरामीलाई कुट्ने, आगोले पोल्ने आदि अन्धविश्वासका कारण कति मानिसको अकालमा ज्यान गएको पनि पाइएको छ।

नेपालमा यो रोगका विरामी धेरै छन्। सामाजिक रितीरिवाज, धार्मिक विश्वास र संस्कृति अनुसार यो रोगका लक्षणहरु फरक पर्न सक्छन्। नेपालमा डिप्रेशन रोगका विरामी पनि यस्तै लक्षणहरु लिएर आउँछन् तर डिप्रेशनमा यी बाहेक अन्य लक्षणहरु पनि देखिन्छन्।

यो रोगको कसरी उपचार गरिन्छ?
यो रोगको उपचार निकै चुनौतीपूर्ण हुनेगर्छ। विरामीको लक्षणलाई ध्यान दिईरहँदा त्यो अझै बढ्न जान्छ। यो रोगका लक्षणहरु देखिएको बेलामा विरामीको वरिपरि बसी आत्तिएमा लक्षणहरु अझै बढ्न जान्छन्। त्यसैले विरामीलाई अन्य कुरा गरी दिमाग/सोचाइ अन्ततिर मोड्नुपर्छ। विरामीलाई मनका कुरा खुल्लारुपमा भन्न प्रोत्साहन गर्नुपर्छ। विरामीले रोगको सिकायत गर्छ, बढि हेरचाह खोज्छ/Attention seeking behavior भने त्यसलाई महत्व दिनु हुदैंन र निरुत्साहित गर्नुपर्छ। विरामीसँग सकेसम्म थोरै मानिस बस्नुपर्छ। विरामीलाई तत्काल अस्पताल लगी उपचार गराउनुपर्छ। यसरी विरामीको लक्षणलाई बेवास्ता गर्दा रोग निको हुन सहयोग गर्छ। साथै विभिन्न प्रकारका मानसिक अन्तरद्धन्द कम गर्ने औषधीहरुको पनि प्रयोग गर्ने गरिन्छ। साइकियाट्रिस्ट र साइकोलोजिस्टहरुसँग यो रोगको उपचार गराउनुपर्छ।


यो रोग बारे जान्नैपर्ने कुराहरु:
यस्ता विरामीलाई कहिलेकाहीं अचानक श्वास फेर्न गाह्रो हुने, कहिले पूरै निको हुने र कहिले अत्यधिक बढ्ने हुन्छ।
विरामीसँग धेरै मानिसको भीड गर्नुहुदैंन, विरामीको लक्षणलाई वास्ता गर्नुहुदैंन नत्र लक्षणहरु झन बढेर जान्छ।
कति विरामीहरुमा यो समस्या बारम्बार दोहोरिन सक्छ। तर नआत्तिकन लगातार उपचार गराइरह्यो भने २-३ हप्तामा यो समस्या विस्तारै निको हुन्छ।
कतिपय विरामीलाई भूत चढेको, भनी बोक्सी लागेको भनी कुटपीट गर्ने, सजाय दिने गरिन्छ, जुन शतप्रतिशत गलत हो।

-यो लेख मनोरोग विशेषज्ञ डा. सि. पि. सेढाईले लेख्नु भएको हो, जसलाई मैले थोरै परिमार्जन गरेको छु।

यो रोगको बारेमा यस भिडियोबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ।

यो पनि हेर्नुहोला:
के हो मास हिस्टेरिया?


बाँकी पढ्नुहोस् >>

Thursday, March 8, 2012

नारी दिवस र नारी स्वास्थ्य/ Women's day & Women's Health


आज ८ मार्च, अर्थात अन्तराष्ट्रिय नारी दिवस। संसारको आधा आकाश, परिवाररुपी रथ गुडाउने एउटा पाङग्राको रुपमा चिनिने नारीहरुको समानता, अधिकारको लागि आवाजलाई अझ बलियो रुपमा अगाडी ल्याउने दिन।

नारी दिवसको उपलक्ष्यमा म यो ब्लगमा नारी महिला स्वास्थ्यका सम्बन्धमा सानो चर्चा गर्न चाहन्छु। र व्रिस्त्रितमा चाँही बिस्तारै लेख्दै जानेछु।

संसारको र नेपालको पनि लगभग आधा जनसंख्या भएका महिलाहरुका थुप्रै स्वास्थ्य समस्या पुरुषहरुका जस्तो त हुन्छ नै। तर भिन्न शारीरिक बनावट, गर्भधारण गर्नुपर्ने आदि प्राकृतिक कारणले उनीहरुको स्वास्थ्य समस्या केही भिन्न पनि हुन्छन्।

नेपालका महिलाहरुको कुरा गर्नुपर्दा गर्भधारण र सुत्केरी सम्बन्धी समस्याहरु नै प्रमुख हुन आउँछ। अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीका अभाव, जनचेतनाको कमि, स्वास्थ्यक्षेत्रमा बजेट, स्रोत र जनशक्तिको राम्रो व्यवस्थापनको कमि आदी कारणले कैयौं (विशेषगरी गाँउका) गर्भवती महिला र सुत्केरी महिलाहरुले सामान्य स्वास्थ्य परिक्षण पनि नपाएको स्थिति छ। सुत्केरी गराउने सम्बन्धी तालिमहरु दिएर गाँउगाँउसम्म त्यो सेवा पुर्याउने कार्यक्रमहरु भैरहेका छन्, जुन सह्रानिय छन् तैपनि पर्याप्त भने छैनन्।

मलाई यतिबेला मेरो विधार्थीजीवनमा रिसर्च गर्दाको एउटा क्षण याद आयो। हामी एउटा गाँउमा विभिन्न परिवारहरुको विवरण संकलन गर्न गएका थियौं। एउटा परिवारमा श्रीमानसँग विवरण लिईरहेका थियौं, उनी आरामले बसेर हामीलाई भनिरहेका थिए की उनकी श्रीमति गर्भवति छिन् र हामीले "सुत्केरी हुने मिति कहिलेको दिइएको छ" भनी सोद्धा "आजको" भनेर उनले भने। हामीले खुसी भएर सोध्यौं "अनि उहाँ कहाँ हुनुहुन्छ त?" "उ पर खेतमा काम गरिरहेकी छिन्" भन्दै उनले खेततिर देखाए। हामी सबै अचम्ममा पर्यौं।

यस्तो छ हाम्रो समाजको अवस्था।

कहिले जानीजानी र कहिले सामाजिक प्रवृति, चालचलनका कारणले हाम्रो समाजमा महिलाहरुका स्वास्थ्यमा हेलचेक्राइ हुने गरेको पाइन्छ। त्यसैले स्वास्थ्य क्षेत्रबाट मात्र यस्ता समस्याको समाधान कदापी हुनसक्दैन। यसमा सामाजिक अगुवाहरु, सामाजिक कार्यकर्ता, गाँउघरकै सदस्यहरु, संचार माध्यम, नीतिनियम निर्माणकर्ता आदी सबैको सहभागिता आवश्यक हुन्छ।

सबैलाई थाहा भएकै कुरा हो, गाँउघरका कैयौं गर्भवती महिलाहरु आइरन चक्की र फोलिक एसिड जस्तो गर्भका बेला अत्यावश्यक औषधी पनि खान पाइरहेका हुदैंनन्। अन्तराष्ट्रिय मान्यता अनुसार गर्भ रहेका बेलामा कम्तिमा ३ पटकसम्म चिकित्सकसँग जाँच गराई भिडियो एक्सरे गर्नुपर्ने भनेर भनिए पनि एकपटक अस्पतालको मुख देख्न पनि मुस्किल पर्ने ठाँउहरु पनि हाम्रो देशमा छन्। त्यस्तै सुत्केरी हुने बेलामा बढी रक्तस्राव, बच्चा अड्कने, लामो व्यथा लाग्ने आदी समस्यामा तालिमप्राप्त स्वास्थ्यकर्मी र सुविधायुक्त स्वास्थ्यकेन्द्रका अभावमा कैयौं महिलाहरुले ज्यान गुमाउनुपरेको दु:खद समाचार बेलाबेलामा सुन्न, पढ्न पाइन्छ।

त्यस्तै अर्को समस्या भनेको आङ खस्ने रोग/Uterine prolapse पनि हो अर्थात् पाठेघर तल खस्ने समस्या। आजभोलि गाँउगाँउमा यसको उपचारका लागि नि:शुल्क स्वास्थ्य शिविरहरु गरेर जनचेतनाको कारणले यो समस्या धेरै बाहिर आएको छ। यो समस्याका मुख्य कारणहरुमा धेरै बच्चा जन्माउनु, सुत्केरीको बेलामा लामो व्यथा लाग्नु, महिनावारी रोकिएपछि हर्मोनहरुको कमि हुनु आदी पर्दछन्।

 त्यस्तै महिनावारीका समस्याहरु पनि महिलाका प्रमुख स्वास्थ्य समस्याहरुमा पर्छन्। महिनावारी भनेको महिलाको शरीरमा स्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रामा उतारचढाव आउनाले हुने प्राकृतिक प्रकृया हो, यसले महिलाको पाठेघरलाई गर्भधारणका लागि तयार पार्ने काम गर्छ। यति सामान्य जानकारीका अभावमा मानिसहरु महिनावारी भएका महिलाहरुलाई अझै पनि घर पस्न नदिने, बाहिर छुट्याएर राख्ने गर्छन्। छाउपडी प्रथा यसको एउटा उदाहरण हो। हुन त यो समस्या स्वास्थ्यसम्बन्धी भन्दा पनि एउटा सामाजिक समस्या हो। चेतनाको अभाव, पहिलेदेखिको चालचलन, अन्धविश्वास आदीका कारणले समाजमा यस्तो भैरहेको हुन्छ।

महिला स्वास्थ्य समस्यामा अर्को भनेको विभिन्न प्रकारका क्यान्सरहरु पनि हुन्। यसमा हाम्रो देशमा बढि हुने भनेको पाठेघरको मुखको क्यान्सर/Cervical Cancer हो। जनचेतनाका अभावमा शुरुमै पत्ता लाग्न सक्ने र उपचार गरेर निको हुनसक्ने यो रोग अस्पतालसम्म निकै ढिलो आइपुग्छ। प्याप स्मियर टेस्ट/PAP smear test जस्तो सामान्य जाँचबाट यसलाई शुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न सकिन्छ। त्यस्तै पाठेघरको क्यान्सर, डिम्बाशयको क्यान्सर, स्तनको क्यान्सर आदी पनि महिला स्वास्थ्यका समस्याहरु हुन्।

नेपाली महिलाहरुका केही मुख्य स्वास्थ्य समस्याहरु माथि भनिएपनि यी पूर्ण भने होइनन्। साथै सामाजिक रुपमा पछाडी पारिने महिलाहरुका यी स्वास्थ्य समस्याहरुलाई सम्बोधन गर्नका लागि यसका बारेमा जनचेतना जगाएर स्वास्थ्यकर्मी र सुविधायुक्त स्वास्थ्यकेन्द्रको सहज पहुँच बनाउनु जति जरुरी छ, त्यति नै आवश्यकता छ सामाजिक कार्यकर्ताहरु नीतिनियम निर्माताहरु र जनसहभागिताको।

महिलाका स्वास्थ्यसम्बन्धी समस्याहरु:

१. महिनावारी सम्बन्धी समस्याहरु,
महिनावारीको गडबडी, महिनावारी अघिको समस्या (प्री मेन्सचुरल सिन्ड्रोम)

२. महिनावारी रोकिएपछि आउने समस्याहरु,
मेनोपजल सिन्ड्रोम र त्यसका असरहरु

३. गर्भ र सुत्केरी सम्बन्धी समस्याहरु,
एन्टीनेटल, नेटल र पोस्टनेटल समस्याहरु

४. गर्भपतन सम्बन्धी समस्याहरु,

५. पिसाबका नलीको र प्रजनन अंगहरुको संक्रमणहरु,

६. निसन्तानपन,

७. स्तन सम्बन्धी समस्याहरु,
स्तन दुख्ने, स्तनमा आउने गाँठागुँठिहरु, स्तनको क्यान्सर

८. प्रजनन अंगहरुका क्यान्सरहरु
पाठेघर, पाठेघरको मुख, डिम्बाशय आदीको

अन्तमा, 

अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा सबै महिलाहरु, महिलाको विकास, सशक्तिकरण र सम्बर्धनमा लाग्नुहुने सबैलाई हार्दिक शुभकामना।

बाँकी पढ्नुहोस् >>

Saturday, February 25, 2012

स्वास्थ्य क्षेत्रमा 'अविश्वासको खाडल'


संसार विश्वासमै अडेको छ, विश्वासमै चलेको छ। केही गरेर यसको कमि भयो भने के हुन्छ होला, सम्झदा पनि डर लाग्छ। तर आजभोली हाम्रो देशका हरेक जस्तो क्षेत्रमा यसको कमि खट्कीन थालेको पाइन्छ। अझ स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा त यसको आवश्यकता र महत्व कति छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। यदी यो क्षेत्रमा 'अविश्वासको खाडल' बन्यो भने के होला? डाक्टरले विरामीलाई र विरामीले डाक्टरलाई शंका गर्ने प्रवृति देखियो भने यो स्वास्थ्यक्षेत्र कति अराजक र डरलाग्दो होला।

यस्तै भयो हिजो भरतपुर अस्पतालमा। बच्चा वार्डमा भर्ना गरिएको विरामी राती १२ बजेतिर सिरीयस भयो भनेर मलाई इमरजेन्सीमा दौडदै बोलाउन आइपुगे। के भएको रहेछ भनी हेर्न गएको त वार्ड भरिका सबैजना जम्मा भएका, बच्चाको आमा एकातिर भक्कानो छोडेर रोइरहेकी, बुवा चाहीं "मेरो बच्चालाई मात्र केही भयो भने म यो सिस्टरको टाउको फोरदिन्छु" भनेर बम्कदै थिए। नर्सहरु भने भित्र बच्चालाई अक्सीजन लगाएर बसिरहेका थिए। स्थिति कति सम्वेदनशील भएको रहेछ भन्ने मैले बुझिहालें। बच्चालाई एकछिन हेरेपछि थाहा भयो, बच्चालाई फेब्राइल सिजर/Febrile seizure आएको रहेछ अर्थात् ज्वरो एक्कासी बढेर बच्चा एकोहोरो भएको र कम्पन छुटेको रहेछ, जसमा अक्सीजनको मात्रामा कमि भइ बच्चा निलो पनि हुने गर्छ। अन्य सिजर अर्थात कम्पन छुट्ने समस्यामा जस्तै यसमा पनि विरामीलाई आफ्नै थुक सर्कन नदिन र स्वासनलीलाई जीब्रोले नथुनोस् भनी कोल्टे पारेर सुताउने, अक्सीजन दिने, ज्वरो कम गर्न सिटामोल दिने, पानीपट्टी गर्ने र कम्पन रोक्ने औषधी डायजेपाम/Diazepam दिने गरिन्छ। यी उपचार गरेपछि बच्चा विस्तारै ठिक भएर आयो।


 'फेब्राइल सिजर'को बारेमा माथिका भिडियोहरु हेरी हाल्नु भयो। तर खासमा यो लेखमा मैले 'फेब्राइल सिजर' वा ज्वरो एक्कासी बढ्नाले छुट्ने कम्पनका बारेमा भन्दा पनि यो घटनामा मैले देखेको डरलाग्दो अविश्वासको खाडलका बारेमा चर्चा गर्न लागेको हुँ। भएको के थियो भने बच्चालाई औषधी दिएको केही क्षण पछि नै त्यस्तो भएको थियो र बच्चाका आमाबुवाले चाहीं औषधी दिने नर्सलाई दोष लगाउदै थिए। "यो सिस्टरले औषधी दिएर मेरो बच्चालाई यस्तो भएको हो। यसकै लापरवाहीले गर्दा यस्तो भएको हो, यो हस्पिटलमा एकदम लापरवाही हुन्छ, मेरो बच्चालाई मात्र केही भयो भने यही अक्सीजनको सिलिण्डरले म त्यसको टाउको फोर्छु" र अरु के-के हो के-के। विचरा नर्सहरु दु:ख पोख्दै थिए "यस्तो दु:ख गरेर ड्युटी नि गर्नु छ, अझ यस्तो गाली र धम्की खानुपर्ने। कस्तो प्रोफेसनमा आइएछ।"

बच्चाका आमाबुवाको ठाँउमा हामीले आफूलाई राखेर हेर्ने हो भने एक हिसाबले उनीहरु 'केही' ठिक पनि हुन्। सुतिरहेको बच्चा औषधी लगाएको केही छिनमा नै एकोहोरो भएको छ, नीलो भएको छ, के भ'को के भ'को थाहा छैन, हो न हो औषधीले नै पो रियाक्सन गर्यो कि, मेरो बच्चा अब मर्ने पो हो की, जताततै लापरवाहीले मरेको भन्ने सुनिन्छ अचेल, यहाँ पनि लापरवाही त गर्यो होला नि। सामान्य मानिसको दिमागमा आजको अविश्वासको वातावरणमा शायद यस्तै कुरा चल्छन् होला। अनि त्यस्तो कुरामा "हो मा हो" मिलाउनेहरुको यहाँ कुनै कमि पनि हुदैंन र केही अप्रिय घटना भयो भने 'डाक्टर, नर्स र अस्पतालको लापरवाहीका कारणले ज्यान गयो' भनेर समाचारले भन्छ।

यो त एक साइडको मात्र कुरा भो। अब उपचारमा संलग्न नर्स र डाक्टरको ठाँउमा पनि आफूलाई राखेर हेर्ने की? दिनरात केही नभनी ड्युटी गरिरहेका हुन्छन्, बेलाबेलामा विरामीको भाइटल्स/vitals(बीपी, तापक्रम, नाडीको चाल हेर्ने) लिने, ठिकठिक समयमा औषधी दिने, बाफ लगाउने आदी गरिरहेका हुन्छन्, त्यस्तो गर्दा पनि जस पाउनुको साटो "तेरो टाउको फोर्दिन्छु, तेरो लापरवाहीले गर्दा हो" भन्ने नमिठा वचनहरु सुन्नुपर्दा कस्तो हुन्छ होला। आफ्नो गल्ति भए त "ल, केही छैन" भन्न नि हुन्छ, हुदैंनभएको गल्तिका लागि पनि यस्तो धम्की र गाली खानुपर्दा कस्तो लाग्छ होला सोच्नुस् त। अझ विरामीलाई के के औषधी दिएर मार्न लागेको, नानाथरीका अनावश्यक जाँच गराएको, विनाकारण भर्ना गरेर पैसा खान पल्केको जस्ता मनै कुँढिने दोष लगाएको पनि सुनिन्छ। एक पटक आफूलाई नर्स र डाक्टरको स्थानमा राखेर सोच्नुस् त।

त्यसो भने गल्ति कसको हो त? सच्चिनुपर्ने को हो त?

गल्ति हामी सबैको हो र सच्चिनुपर्ने पनि हामी सबै नै हो। अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा त्यसरी आवेगमा आएर उपचार गर्ने स्वास्थ्यकर्मीलाई धम्काएर केही फायदा हुने होइन। मैले पहिले देखि नै भन्दै र लेख्दै आएको छु "अस्पतालमा कोही भगवान वा जादुगर बस्दैन, उपचार भनेको जादुको छडी घुमाएको जस्तो पनि होइन। साधारण मान्छेहरुले आफूले पढेको र जानेको भरमा उपलब्द औषधी र उपाय लगाएर अस्पतालमा उपचार गरिन्छ।" यसरी गरिने उपचारबाट शतप्रतिशतलाई कुनै पनि देशको कुनै पनि कुनामा ठिक पार्न सकिदैन र यहीं विरामीलाई ठिक पार्छु भनेर ग्यारेण्टि पनि दिन सकिदैंन। उपचार भनेको त विरामी (र उसका परिवार) र चिकित्साकर्मी दुई समूहको आपसको विश्वास सल्लाहका आधारमा गरिने हो। यसमा डाक्टर र नर्सको भुमिका सल्लाहकार र सहयोगीको हुनुपर्छ। विशेष परिस्थितिहरुमा बाहेक निर्णयको अधिकार विरामी र उसका परिवारको नै हुन्छ, हुनुपर्छ र उनिहरुलाई नै दिनुपर्छ पनि।

त्यस्तै हरेक औषधी र उपचारका फायदा र बेफायदा हुन्छन्। त्यसको बारेमा सक्दो जानकारी दिने काम डाक्टरको हो र आफ्नो विरामीलाई कुन औषधीले नराम्रो भन्दा राम्रो बढि गर्छ भनेर सल्लाह दिने र त्यही अनुरुप उपचार गर्ने काम डाक्टरको हो। उपचार गरेपनि हरेक विरामीको हरेक रोग ठिक हुदैंन र त्यसका आफ्नै खालका कम्लिकेसनहरु देखिन्छन्। तर उपचारका क्रममा देखिने हरेक खालका साइड इफेक्ट, खराब असर, कम्लिकेसनको दोष डाक्टर र नर्सहरुमाथि लगाउन मिल्दैन। त्यस्तै उपचारमा रहेका विरामी र उसका परिवारलाई रोग, अवस्था, भइरहेको उपचार, हुनसक्ने खराब असरहरुका बारेमा "सक्दो र बुझ्ने भाषामा" बुझाउने प्रयास गर्नुपर्छ। यो उसको कर्तव्य र दायित्व पनि हो। यहाँ मैले "सक्दो र बुझ्ने भाषा" किन भनेको भन्दा हाम्रो जस्तो विरामी र डाक्टरको अनुपात एकदमै धेरै भएको ठाँउमा, एउटै डाक्टरले दिनमै सयौं विरामी हेर्नुपर्ने हुन्छ र सबैलाई चाहेको र दिनुपर्ने जति समय दिन सकिदैन। त्यस्तै डाक्टरले रोग उपचारका बारेमा भनेका आधाभन्दा धेरै कुरा सामान्य मानिसले बुझेका हुदैंनन्। त्यसैले समयले भ्याएजति र सम्भव भएसम्म विरामी र उसका परिवारलाई रोग, त्यसका असर उपचार र त्यसका सम्भावित परिणामहरुका बारेमा सरल भाषामा जानकारी दिने गर्नुपर्छ। साथै उपचार भनेको औषधी मात्र होइन। विरामी अवस्थामा विरामी र उसका परिवारका विश्वासिलो साथी र सहयोगीका भुमिकामा डाक्टर र नर्सहरुले आफूलाई उभ्याउन सक्नुपर्छ। खाली रोगका कम्लिकेसन, औषधीका साइड इफेक्टका बारेमा मात्र कुरा सुनाएर विरामी तर्साउने र 'राखे राख्नुस्, नराखे अरु अस्पताल लैजानुस' भन्ने प्रवृति (जुन सरकारी अस्पतालहरुमा बढि देखिन्छ) पनि उचित होइन। त्यस्तै विरामी अन्त जाला भनेर जस्तोसुकै ठुलो अप्रेशनलाई नि सामान्य भन्ने, हुनसक्ने कम्लिकेसनहरु पनि लुकाउने बानी (जुन प्राइभेट नर्सिङ होमहरुमा बढि पाइन्छ) पनि ठिक होइन।

लेखको शुरुमा भने जस्तो स्वास्थ्य क्षेत्र पनि विश्वासमै अडेको छ। तर आजभोली यसको बढ्दो व्यापारीकरण (नाफा कमाउने राम्रो व्यवसाय बन्दै छ, औषधी पसल, पोलीक्लिनिक र प्राइभेट नर्सिङ होमहरु), आवश्यक अनुगमनको कमि, विरामीहरुमा पनि चेतनाको कमि, आफ्नो रोग र उपचारका बारेमा उचित जानकारी लिनुभन्दा "पैसा जति नि तिर्छु, तर ठिक हुनुपर्छ" भन्ने प्रवृति आदीले यो क्षेत्रमा अविश्वासको खाल्डो खन्दैछ। त्यसमाथि बेलाबेलामा समाचारमा आउने 'अस्पताल, डाक्टरको लापरवाही' शिर्षकका खबरहरुले पनि यसलाई अझ बढि मौलाउन दिएको छ। यी छापा, रेडियो, टिभीमा आइरहने यस्ता समाचारहरु पूर्णरुपमा झुठ त पक्कै होइनन, हावा नचलीकन पात त पक्कै हल्लदैन। तर पनि भएको घटनाको राम्रो खोजखबर गरेर दुवै पक्षका कुरा राखेर विज्ञका पनि विचार राखेर त्यसको विश्लेषण गर्नुभन्दा कहिले इमोसनल र कहिले डरलाग्दो ब्याकग्राउण्ड म्युजिक सहित 'हिन्दी फिल्मी स्टाइल'मा दिइने यस्ता समाचारले घटनालाई अतिरन्जित बनाएका हुन्छन्। पत्रकार महोदयहरुमा यो क्षेत्रमा प्रोफेसनालिज्म कहिले आउने होला?

अब सुध्रिन शुरु कसले गर्ने त? 

यसले, उसले भन्नु भन्दा पनि हामी सबैले नै सुध्रिनु जरुरी छ र यसको शुरुवात गर्न ढिलो गर्नुहुन्न। सबैले आफ्नो मात्र भलो सोच्ने, आफ्नो मात्र दुनो सोझ्याउने, अरुको मात्र दोष देख्ने र अरुलाई मात्र दोष दिने, घटनाको वास्तविकता नबुझी हल्लाको पछि मात्र दौडने नगरी आपसी छलफल गरेर विश्वासलाई कायम राख्दै एकअर्काको सहयोग गरेमा नै सबैको भलाई हुनेछ। र तपाईं हामी बीच बन्दै र बढ्दै गरेको यो 'अविश्वासको खाडल' चाडै नै पुरिनेछ भन्ने आशा राखौ।

अन्तमा,

डाक्टरहरुलाई यस्तो ड्रेस पक्कै पनि सुहाउदैन र उनीहरु लगाउन चाहदैनन् पनि। :)



बाँकी पढ्नुहोस् >>

Tuesday, February 14, 2012

डाक्टरको प्रेमपत्र/ Doctor's Love letter


आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे। सबैतिर प्रेमको रँग घोलिएको छ, मायाको संगीत गुन्जिएको छ।  रातो गुलाफ साटासाट गरिदैछन, गिफ्टहरु आदन प्रदान गरिदैछन्, माया बाडिदैछन्। अर्थात Love is in the air. र यस्तो मायाको मौसममा म र मेरो ब्लग मात्रै कसरी अछुतो रहन सकोस् त। डाक्टरको पनि आखिर मनै त हो। त्यसैले यही मायाको दिनको मौका पारेर यो काल्पनिक, रमाइलो 'प्रेमपत्र' लेखेको छु, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा सन्योग मात्र हुनेछ। ;)


प्रिय,

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस। तिमीलाई भेटेर तिम्रो हात समाती तिम्रो आँखामा आँखा जुधाई आफ्नो मनका सबै कुराहरु भन्न मन लागेको थियो। तर हेर न कस्तो, आजकै दिन डबल ड्युटी गर्नु परिरहेको छ। त्यसैले ड्युटीबाट खुस्स टाइम निकालेर यो पत्र लेख्दैछु।

तिमीलाई पहिलो पल्ट एक वर्ष अगाडी यही हस्पिटलको गेट बाहिर देखेको थिएँ। तिम्रो सुन्दरताको तस्विर मेरो रेटिना/Retinaमा पर्ने बित्तिकै मेरो शरीरको फिजीयोलोजी डामाडोल भएको थियो। एक्कासी आएको एट्रियल फिब्रीलेसन/Atrial fibrillationले मेरो मुटु घोडाजस्तै दौडिएको थियो। पोस्चुरल हाइपोटेन्सन/Postural Hypotensionले हो की भ्यासोभेगल शक/Vasovagal shockले हो म झन्डै बेहोस भएको थिएँ। तैपनि मैले आफुलाई जसोतसो सम्हालेको थिएँ। त्यसपछिका दिनहरुमा मेरो त्यो घोडाको जस्तो मुटुलाई न त बिटा ब्लकर/Beta blockerले रोक्न सक्यो न त क्याल्सीयम च्यानल ब्लकर/Calcium channel blockerले नै। धन्न डिसी सक/DC shock दिनुपर्ने अवस्था चाँही आएन।

मेरो हिप्पोक्याम्पस/Hippocampusमा तिम्रो नै सम्झनाका केमीकलहरु बनिरहन्थे, जसलाई मेटाबोलाइज गर्ने इन्जाइमहरु शायद इन्हिविट भएका थिए वा जीन/gene लेभलमै ब्लक भएका थिए। हरदम तिम्रै ह्यालुसिनेसन/Hallucination (भिजुअल/visual, अडिटरी/auditory, गस्टेटरी/gustatory सबै) आउँदाखेरी मलाई इन्सोम्नीया/Insomniaले सताएको थियो। एमीट्रीप्टालीन/Amitriptyline र एल्प्राजोलाम/Alprazolamले पनि मेरो इइजी/EEGमा डेल्टा वेभ/Delta wave ल्याउन सकेन।

तिमीलाई भेटेर आफ्नो बिग्रेको फिजीयोलोजी, बायोकेमेष्ट्री र साइकोलोजीको बेलीबिस्तार लगाउला भनेर धेरै पटक सोचे पनि। तर सर्टटर्म मेमोरी लसले हो की प्यानिक एट्याक/panic attackले हो, हाइपोग्लोसल नर्भ/hypoglossal nerveले कामै गदैनथ्यो। तिम्रो टम्म मिलेका इन्सीजर/incisor, क्यानाइन/canine हेर्दैमा म मख्ख पर्थे र केही बोल्नै सक्दिनथे।

मन त छ तिमीलाई मेरो मुटुको एसए नोड/SA node बनाएर राखुँ, मन त छ तिम्रै सम्झनामा मेरा सबै सेरेब्रम/cerebrumको मेमोरी पावर खर्चुँ, मन त छ तिमीसँग सधैं रिसेप्टर र एगोनिस्ट जस्तो जोडिएर बसुँ। तर यी सब कुराहरु भन्नको लागि मेरो एटीपी/ATPको प्रोडक्सन नै पुगेन। आज बल्लबल्ल ग्लाइकोलाइसीस, क्रेब्स साइकल, ग्लाइकोजेनोलाइसीस, ग्लुकोनियोजेनेसीस सबै एकैपटक गराएर भनेपनि मनको कुरा खोल्न एटीपीको थुप्रो जम्मा गरेको थिएँ, तर ERको डबल ड्युटीले धोका दियो।

त्यही पनि आज यही पत्र मार्फत भनेपनि तिमीलाई भन्न चाहन्छु, दमको विरामीले अक्सिजनलाई माया गरेजत्तिकै म तिमीलाई माया गर्छु, एआरभी/ARVले एचआइभी विरामीलाई बचाएजस्तै म तिमीलाई हरेक दु:खकष्टबाट बचाएर राख्छु, एन्जाइना/Angina हुँदा मुटुले रगतलाई मिस गरेजस्तै हरपल हरक्षण तिमीलाई मिस गरिरहन्छु र डिएनएको डबल हेलिक्स मोडल/Double Helix model जस्तै तिमीसँग सधैंभरी सँगै अँगालोमा बेरिएर बस्न चाहन्छु।

तिम्रो 'पोजिटिभ फिडब्याक'को आसमा,
उही तिम्रो,
डा. प्रेमी

Happy Valentine's Day..

बाँकी पढ्नुहोस् >>

Wednesday, February 8, 2012

छोरा वा छोरी, बन्छन् कसरी - भाग २?


माथि दिइएको तस्वीरका व्यक्तिहरु महिलाहरु हुन् की पुरुषहरु?

प्रश्न देखेर तपाईंहरु अचम्म पर्नुभयो होला। यो के खालको बकवास प्रश्न सोध्यो भनेर। विकीपेडियाबाट लिइएको यो फोटो झट्ट हेर्दा यी सबै महिला जस्ता देखिन्छन्, किनभने सामाजिक रुपमा लिंग/Sex छुट्याउने भनेकै शारीरिक वनावट, बाहिरी प्रजनन अंग पुरुषको छ वा महिलाको भन्ने हेरेर हो। सामान्यरुपमा यो तरिका सही पनि हुन्छ। र यो तरिका अनुसार चित्रका व्यक्तिहरु महिलाहरु हुन्। तर यहाँ वर्णन गर्न लागिएको अवस्थामा यो तरिकाले काम गर्दैन। माथिका चित्रका व्यक्तिहरु बाहिरीरुपमा र सामाजिकरुपमा महिला हुन्, तर क्रोमोजोमको हिसाबले उनीहरु पुरुष हुन्। उनीहरुको क्रोमोजोम पनि सामान्य पुरुषको जस्तो एक्स वाई/XY छ। यो अवस्थालाई एन्ड्रोजेन इन्सेन्सीटिभिटी सिन्ड्रोम/Androgen Insensitivity Syndrome or AIS भनिन्छ।

यस्तो कसरी सम्भव हुन्छ भनेर बुझ्नका लागि यही लेखको पहिलो भाग 'छोरा वा छोरी, बन्छन् कसरी?' भन्ने पनि पढ्नुहोला।

त्यसमा भनिएजस्तै मानिसको भ्रुणमा भित्री प्रजनन अंगहरु बन्नको लागि विशेष दुई तन्तुहरु हुन्छन्। महिलाका भित्री प्रजनन अंगहरु पाठेघर, फेलोपियन ट्यव, योनीको भित्री भाग आदी बन्नको लागि मुलेरियन डक्ट/Mullerian Duct र पुरुषका भित्री प्रजनन अंगहरु इपिडिडाइमिस, भास डिफरेन्स आदी बन्नको लागि वुल्फियन डक्ट/Wollfian Duct हुन्छ। वाई/Y क्रोमोजोमले टिडिएफ/TDF-Testis Determining Factor बनाउँछ, जसले भ्रुणमा अण्डकोषको विकास गर्छ। अण्डकोषले मुलेरियन डक्टको विकासलाई रोक्न एमआईएफ/MIF-Mullerian Inhibiting Factor बनाउँछ, साथै पुरुषका भित्री र बाहिरी प्रजनन अंगहरुको विकास गर्नका लागि पुरुष हर्मोनहरु टेस्टोस्टेरोन र डिएचटी/DHT-Dihydrotestosterone बनाउने गर्छ। केही गरेर यी हर्मोनहरुको उत्पादन भएन वा यी हर्मोनहरुले काम गर्ने रिसेप्टर/receptorमा खराबी भएमा सेक्स क्रोमोजोम एक्स वाई/XY भए पनि र भित्रीरुपमा अण्डकोष र अन्य पुरुष प्रजनन अंगहरु भएपनि बाहिरी रुपमा भने महिलाका शारिरीक र प्रजनन अंगहरुको विकास हुनेगर्छ।

समाजमा जन्मको बेला छोरा वा छोरी छुट्याउने भनेको बाहिरी प्रजनन अंग हेरेर नै हो। त्यसैले माथिको समस्या भएको बच्चाको जन्म समाजमा छोरीको रुपमा नै हुन्छ, उसलाई छोरीकै रुपमा व्यवहार गरिन्छ, उ छोरीकैरुपमा हुर्कन्छ पनि। तर समस्या प्राय: गरेर पहिलोपल्ट त्यतिबेला बाहिर आउँछ, जब उसमा महिनावारी हुदैंन। यी महिलाहरुमा महिलाका भित्री प्रजनन अंगहरु जस्तै डिम्बाशय, पाठेघर आदी नहुनाले महिनावारी नहुने र सामान्यरुपमा बच्चा जन्माउन नसक्ने हुन्छन्।

तर याद राख्नुपर्ने कुरा के हो भने यो अवस्था भनेको  समलिंगी हुनु पक्कै होइन।

यो त भयो क्रोमोजोमल रुपमा पुरुष र शारिरीक रुपमा महिला हुने अवस्थाको कुरा। अब फर्टिलाइजेसन हुँदा एक्स ओ/XO भएमा अर्थात् एउटा मात्र सेक्स क्रोमोजोम भएमा के हुन्छ जानौं।

यो अवस्थालाई टर्नर सिन्ड्रोम/Turner Syndrome भनिन्छ। आमा र बुवाबाट आउने क्रमश: डिम्ब/ovum र शुक्रकिट/spermatozoon मा केही खराबी भएर बन्ने भ्रुणको क्रोमोजोममा एउटा सेक्स क्रोमोजोमको कमि हुन गएमा यस्तो अवस्था देखिन्छ। यसमा महिलाको उचाई सानो हुने, छाती फराकिलो हुने, घाँटीमा छालाको फराकिलो पत्र देखिने, कान सामान्यभन्दा तल हुने, हातखुट्टाहरु सुन्निएको हुने, स्तनको विकास नहुने, महिनावारी नहुने जस्ता समस्याहरु देखिने गर्छन्। त्यस्तै मुटुका जन्मजात समस्याहरु/Congenital Heart Diseases, मृगौलाका विकासका समस्याहरु/Horseshoe kidney, सानो र काम नगर्ने डिम्बाशयहरु/ Rudimentary ovaries पनि यो सिन्ड्रोम भएका महिलाहरुमा देखिन्छन्।

यो सिन्ड्रोमलाई पूर्णरुपमा निको पार्ने कुनै उपचार छैन। तैपनि यसमा देखिने स्वास्थ्यसम्बन्धि र अन्य समस्याहरुलाई विभिन्न उपायहरुबाट केही कम भने गर्न सकिन्छ।

सेक्स क्रोमोजोम सम्बन्धित अर्को अवस्था हो, क्लाइनेफेल्टर सिन्ड्रोम/Klinefelter Syndrome। यसमा सेक्स क्रोमोजोम एक्स एक्स वाई/XXY हुन्छ र यी शारिरीकरुपमा पुरुष हुन्छन्। हेर्दा सामान्य नै देखिने भएपनि यिनमा पुरुषका शारिरीक र प्रजनन अंगहरुको पूर्णरुपमा विकास भएको हुदैंन। अण्डकोषको आकार सानो हुने, काखी मुनि रौं, दाह्रींजुंगा नआउने, महिलाको जस्तो गुप्तांगको रौं/pubic hair को विकास हुने, महिलाको जस्तो स्तन बढेर जाने/gynaecomastia आदी हुन्छ। त्यस्तै यो सिन्ड्रोम भएका पुरुषहरुमा अण्डकोषको क्यान्सर, स्तनको क्यान्सर र हाडजोर्नीको रोग ओस्टियोपोरोसिस/Osteoporosis देखिने सम्भावना सामान्य भन्दा बढि हुन्छ। शारिरीक बनावट महिला जस्तो देखिने यी पुरुषहरु शुक्रकीटको उत्पादनको कमिका कारणले बच्चा जन्माउन नसक्ने/Infertile हुन्छन्।

यस्ता वंशानुगत अवस्थाहरु समस्याहरुका बारे हाम्रो देश, समाजमा प्राय: नसुनिने भएपनि नहुने चाँही पक्कै होइन। शिक्षा, जनचेतनाको कमि, सामाजिक परिवेशका कारणले यी अवस्थाहरु प्राय: गरेर लुकाइन्छ नै। र चिकित्सकसम्म पुगे पनि जाँचका उपायहरुको सर्वसुलभताका कमिका कारण पत्ता लाग्न गाह्रों हुने गर्छ। विकसित मुलुकहरुमा भने हरेक खालका रोग वा अवस्थाहरुका बारेमा जनचेतना दिनुका साथै ती समस्या भोगीरहेका व्यक्ति वा परिवारहरुले एकआपसमा सहयोग गर्न, शिक्षा, जानकारी आदनप्रदान गर्न विभिन्न संस्थाहरु खोलेका हुन्छन्। यस्ता समस्या भएका महिलाहरुको सहयोगको लागि भनेर बनेको एउटा समुह 'एन्ड्रोजन इन्सेन्सीटिभिटी सिन्ड्रोम सर्पोट ग्रुप/Androgen Insensitivity Syndrome Support Group-AISSG' पनि हो। नेपालमा यस्ता ग्रुपहरु हुदैं नभएका भने होइनन्। 'नेपाल अपुष्ट-रक्तकोष समूह' रगतको एउटा आनुवंशीय रोग 'थालासेमीया/Thalassemia'का बारेमा जानकारी दिने र त्यसका समस्या भोगीरहेका विरामी र परिवारलाई सहयोगका लागि शुरु गरिएको संस्था हो।

यस्ता वंशानुगत रोग वा सिन्ड्रोम/ Genetic Disease or Syndromeहरुको उपचार खासै सम्भव हुदैंन, मात्र त्यसमा देखिने विभिन्न खालका समस्याहरुको उपचार गर्ने गरिन्छ। त्यसैले यस्ता समस्याहरुको गर्भ रहँदाको अवस्थामै एम्नियोसिन्टेसिस/ Amniocentesis गरी क्रोमोजोमल एनालाइसिस/ Chromosomal Analysis गरी पत्ता लगाएर उपचार गर्नु वा त्यो गर्भ पतन गर्ने वा के गर्ने भनेर पतिपत्नीलाई निर्णयको अधिकार दिनु राम्रो हुन्छ। त्यस्तै यस्ता विभिन्न वंशानुगत रोगहरुको बारेमा पनि समाजमा जनचेतना जगाउनु आजको आवश्यकता हो। नत्र दैवले ठगेको, पूर्वजन्मको पापको फल भन्दै यस्ता रोगहरुलाई सधैं लुकाइन्छ वा उनीहरुलाई सधैं समाजले नराम्रो दृष्टिले हेरिरहन्छ।

केही दिन अघि 'न्युज 24' मा आफ्नो अंगहरु आफैं टोक्ने लक्षण हुने एउटा अति नै दुर्लभ वंशानुगत रोग 'लेस निहान सिन्ड्रोम/Lesch Nyhan Syndrome' को बारेमा समाचार दिइएको थियो, जुन सह्रायनीय कार्य हो। मिडियाले यस्ता रोग, समस्याहरुलाई समस्याको रुपमा मात्र अगाडि नल्याइ त्यसका बारेमा सम्बन्धित बिषयका चिकित्सक वा विशेषज्ञलाई पनि सोधेर पूर्ण समाचार दिँदा समाजमा साँचो र चेतनामुलक जानकारी पुग्न जान्छ।



स्रोतहरु:


बाँकी पढ्नुहोस् >>