1. उच्च रक्तचापको औषधी सुरु गरेपछी छोड्न मिल्दैन।
धेरै विरामीहरु उच्च रक्तचापको औषधी सुरु गर्न डराउनु हुन्छ। यी औषधीहरु एकपटक सुरु गरिसकेपछी लगातार खाइ रहनुपर्ने, यसको सेवन गर्ने वानी बस्ने, बीचमा छोड्न नमिल्ने, केही गरेर छोडियो भने प्रेसर एक्कासी बडेर मस्तिस्कमा रगत बग्ने, प्यारालाईसिस हुने हुन्छ भन्ने धेरैको सोचाइ रहेको मैले पाएको छु। यो केही साँचो पनि हो। किनभने यी औषधीहरुले उच्च रक्तचाप रोग निमिट्यान्न पार्ने हैन, मात्र तपाईंको प्रेसरलाई सामान्यमा फर्काउने, सामान्यमा नियन्त्रण गरेर राख्ने हो। र यो रोग मधुमेह, दम जस्तै लामो समय रहने रोग (Chronic Disease) भएकोले यसको औषधी तपाईंले जिन्दगी भरी नै खानु पर्ने हुन्छ। यो औषधीको वानी पर्ने भएर हैन की तपाईंको रोग पूर्ण निको नहुने, नियन्त्रण मात्र हुने भएर हो।र यो तपाईंले जुनै विधी अप्नाउदा पनि गर्नुपर्ने हुन्छ। चाहे तपाईं एल्लोप्याथिक औषधी (डक्टरले दिने औषधी) खानुस् वा आयुरबेदिक औषधी खानुस् वा व्यायाम मात्रै गर्नुस् वा नुन कम खानुस्। तपाईंले यी कुरा जिन्दगीभरलाई गर्नुपर्ने हुन्छ। तर कहिलेकाही प्रेसरमा राम्रो सुधार भएमा डक्टरको सल्लाह अनुसार औषधीको मात्र घटाउने, बन्द गर्ने गर्न सकिन्छ।
2. नुन बढी खाएमा उच्च रक्तचाप हुन्छ।
नुन बढी खाएमा उच्च रक्तचाप हुन्छ भन्ने जति बलियो जनधारणा छ अध्ययनहरुमा त्यति बलियो रुपमा नुन उच्च रक्तचापको कारक तत्व हो भनि प्रमाणित हुन सकेको छैन। कसैकसैमा उच्च रक्तचापको कारण खाने नुन (त्यसमा हुने सोडियम तत्व) भएको देखिएको छ, यिनीहरुलाई ‘साल्ट सेन्सिटीव’ (Salt Sensitive) भनिन्छ। यिनीहरुमा खाने नुन बढी खानाले म्रिगौलाले पिसावको रुपमा कम पानी शरीर बाहिर फ्याँक्छ र शरीरमा पानीको मात्रा बढेर प्रेसर बढ्ने हुन्छ। अर्को अध्ययनबाट चाँही प्रेसर बढ्नुको कारण शरिरमा सोडियमको मात्रा बढी भएर हैन की सोडियम र पोटासियम बीचको सन्तुलन गडबड (सोडियम बढी, पोटासियम कम) भएर हो भन्ने देखिएको छ।
डक्टरको सल्लाह के हुन्छ? यदि तपाईंको प्रेसर बढी भैसकेको छ भने तपाईं ‘साल्ट सेन्सिटिव’ हुने सम्भावना धेरै रहन्छ, त्यसैले खाने नुनको मात्रा घटाउनु तपाईंको उच्च रक्तचाप नियन्त्रनको लागि फायदाजनक हुन्छ। तर यदि तपाईंको प्रेसर सामान्य छ भने उच्च रक्तचाप नहोस् भनेर नुन कम खानु त्यति फायदाजनक नहुनसक्छ। किनभने खाने नुनमा हुने सोडियम शरीरको लागि अत्यावस्यक तत्व हो।
3. तितो खानेकुरा जस्तै करेला आदि खानाले प्रेसर कम हुन्छ।
हामी मध्ये धेरैले एलोप्याथिक औषधी भन्दा घरेलु उपचार, आयुर्बेदिक औषधी मन पराउछौ। तर ती तरिकाहरु अप्नाउदा पनि राम्रोसँग बुझेर, जानकारी लिएर गर्नु राम्रो हुन्छ। लसुन खानाले शरिरमा कोलेस्ट्रोलको मात्रा घट्ने, हानिकारक बोसो (LDL)को मात्रा घट्ने, राम्रो बोसो (HDL)को मात्रा बढ्ने र बढेको प्रेसर घट्ने कुरा अध्ययनहरुमा देखिएको छ। खाने नुन ( सोडियम भएको नुन )कम खानुको साथै पोटासियम भएको खानेकुराहरु ( केरा ) बढी खानाले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ। तितो खानेकुरा जस्तै करेला आदिले प्रेसर घटाउछ भन्ने कुरा या त अध्ययन गरिएको छैन या अध्ययनहरुमा प्रमाणित भएको छैन। र एउटा महत्वपुर्ण कुरा, तपाईंले कुनै पनि समस्याको लागि घरेलु उपचार वा आयुर्वेदिक उपचार केही गरिरहनु भएको छ भने त्यसको बारेमा आफ्नो चिकित्सकलाई जानकारी गराउनु पर्छ।
4. प्रेसर बढी भएको व्यक्तीहरु रिसाहा हुन्छन्।
उच्च रक्तचाप भन्नाले मानसिक तनाव बढी हुनु, रिसाहा हुनु पटक्कै हैन। उच्च रक्तचाप भनेको त शरिरका धमनी हरुमा रगतको प्रेसर बढी हुनु हो। मानसिक तनाव बढी भएको बेला, चिन्ता बढी लिदा शरीरमा स्ट्रेस हर्मोनहरु (इपीनेफ्रिन, कोर्टिसोल)को मात्रा बढ्न गई रक्तचाप पनि बढ्छ तर सबै उच्च रक्तचाप भएकोलाई मानसिक तनाव बढी हुन्छ, उनिहरु चिन्ता बढी लिन्छन् र रिसाहा हुन्छन् भन्नु चाँही उपयुक्त हुदैन। त्यसैले मानसिक तनाव कम गर्न चिन्ता कम लिने, ध्यान गर्ने, योगा गर्ने गर्दा उच्च रक्तचापलाई मात्र नभै सामान्य अवस्थामा पनि सम्पुर्ण शरीरलाई फायदा गर्छ।
5. एक पटक मात्र प्रेसर जाँच्दा प्रेसर बढी भएमा उच्च रक्तचाप हुन्छ।
एक पटक मात्र प्रेसर जाँच्दा प्रेसर बढी हुनुलाई उच्च रक्तचाप भन्न मिल्दैन। हाम्रो प्रेसर दिनभर हरसमय परिवर्तन भईरहेको हुन्छ, शारिरिक काम गर्दा, तनावमा हुँदा बढ्ने, आरम गर्दा, सुतेको बेलामा काम हुने हुन्छ। त्यस्तै कसैकसैको अस्पतालमा डक्टरले प्रेसर नाप्दा मात्र बढी देखिने हुन्छ, यसलाई व्हाइट कोट हाइपरटेन्सन ( डक्टरले लगाउने सेतो एप्रोनबाट नाम राखिएको ) भनिन्छ। त्यसोभने उच्च रक्तचाप भन्नलाई के हुनु पर्छ त? उपयुक्त प्रेसर नाप्ने यन्त्र (Sphygmomanometer) ले ठीक तरिकाले प्रेसर नाप्दा कम्तिमा दुई पटक प्रेसर १४०/९० मी.मी. एच.जी. भन्दा बढी देखिएमा उच्च रक्तचाप भएको भन्न सकिन्छ। साथै प्रेसर नाप्नुभन्दा कम्तिमा ३० मिनेट अगाडिसम्म धुम्रपान नगरेको, चिया, कफी नखाएको हुनुपर्छ। कम्तिमा ५ मिनेट आराम गरेर बसेको हुनु पर्छ र दुई पटकको प्रेसर जाँचबीच कम्तीमा २ मिनेटको फरक हुनुपर्छ। व्हाइट कोट हाइपरटेनसनको लागि भने घरमा वा अस्पताल बाहिर प्रेसर नापेर हेर्नुपर्ने हुन्छ।
6. उमेरसंगै रक्तचाप बढ्दै जानु सामान्य हो।
दशक अघिसम्म यो कुरा सहि मानिन्थ्यो, तर अहिले उमेरसंगै रक्तचाप बढ्दै जानु उमेर बढ्नाले नभै खानाको खराबी, वातावरणिय असर, जीवन पध्दतीको परिवर्तन आदिले हो भन्ने देखिएको छ। त्यसैले आजभोलि कम उमेरमै उच्च रक्तचापको समस्याहरु देखिन थालेको छ। बढ्दो धुम्रपान, मध्यपान, खानामा स्याचुरेटेड फ्याट (Saturated Fat)को मात्रा बढी हुनु, व्यायामको कमी आदि कारणले गर्दा उच्च रक्तचापको प्रकोप बढ्दै गएको छ।