अप्रेसन/सर्जरी गर्ने वा चिरफार गर्ने भनेपछि सबैलाई डर लाग्छ। सानो ठुलो जस्तै भएपनि अप्रेसन गर्नु भनेको ठुलो तनावको कुरा हो। अप्रेसनमा के गरिने हो, कति दुख्ने हो, बेहोस पार्ने हो हैन आदि धेरै प्रश्नहरु मनमा आउनु स्वाभाविक हो। तपाइका ती सबै प्रश्नहरु, जिज्ञासाहरुको उत्तर दिने जिम्वेवारी तपाईंको अप्रेसन गर्ने चिकित्सकहरुको समुहको हो। सर्जरी अघि सर्जरीको बारेमा पूर्ण जानकारी पाएमा, के कसरी गरिने हो, के के हुनसक्छ भन्ने सम्भावित कुराहरु थाहा पाएमा सर्जरीपछि विरामी बढी सन्तुस्त हुने अनुसन्धानहरुमा प्रमाणित भैसकेको छ।(3) त्यसैले पनि आफ्नो सर्जरी अघि त्यस सम्बन्धी आफ्नो जिज्ञासाहरुलाई आफ्नो सर्जरी गर्ने चिकित्सक (Surgeon), सर्जरीको दौरानमा आफूलाई बेहोस राख्ने चिकित्सक (Anaesthesiologist) सामु राखेर त्यसको बारेमा जानकारी लिनु राम्रो हुन्छ।
अप्रेसन/सर्जरी अगाडि तपाईंले सोध्नुपर्ने केही प्रश्नहरु:-
मलाई यो अप्रेसन/सर्जरी किन आवस्यक छ?
हरेक अप्रेसनका भिन्नभिन्नै उदेस्य हुन्छन्, कुनै तपाईंको रोग निर्मुल पार्नको लागि गरिने हुन्छ, कुनै तपाईंको रोग पत्ता लगाउन गरिने हुन्छ। कुनै अप्रेसन गर्दा तपाईंको कुनै अङ काटेर निकालिन्छ भने कुनै अप्रेसनमा तपाईंको भित्री अङमा केही प्रोसिडर वा प्रक्रिया(procedure) गरिन्छ। अप्रेसन के उदेस्यले गरिन लागेको हो र अप्रेसनपछि कस्तो खालको परिणामको आशा गर्ने भनेर तपाईंले अप्रेसन अगाडि नै थाहा पाउनु जरुरी छ। यो कुरा तपाईंको अप्रेसन गर्ने चिकित्सकले तपाईंलाई जानकारी गराउनुपर्छ।
यो कस्तो खालको अप्रेसन/सर्जरी हो? यसमा के गरिन्छ?
अप्रेसनमा के गरिन्छ, कसरी गरिन्छ आदि जानकारी साधारण भाशामा गराउनु तपाईंको चिकित्सकको कर्तव्य हो। यसको लागि चिकित्सकले चित्र, डमी (Dummy) वा भिडियोको सहायता लिन सक्छन्। शरीरको कुन भागमा चिरिन्छ, कुन आकारमा चिरिन्छ, कुन अङ काटेर निकालिन्छ, कुन अङमा के गरिन्छ आदि थाहा पाउनु तपाईंको अधिकार हो र त्यो थाहा पाउनु जरुरी पनि छ। कुनै पनि रोगको लागि थरीथरीका अप्रेसनहरु हुन्छन्, कुनैको लागि बाहिरी छालामा ठुलो चिर्नुपर्ने हुन्छ भने कुनै छालामा सानो प्वाल पारेर दुरबीन जस्तो यन्त्र छिराएर गरिने अप्रेसन (Laparoscopic Surgery) हुन्छ। हरेकका आफ्नै फाईदा र बेफाइदाहरु हुन्छन्। ती सबैको जानकारी लिएर आफ्नो लागि कस्तो खालको अप्रेसन उपयुक्त हुन्छ भन्ने कुराको चिकित्सकसँग छलफल गर्नुपर्छ।
मेरो रोग/अवस्थाको लागि अप्रेसन/सर्जरीको अर्को विकल्प छ?
कुनैकुनै रोगको उपचार सर्जरी मात्र नहुन सक्छ। औषधी र दैनिक जाँच (Medical management) बाट पनि त्यस्तो रोगको उपचार गर्न सकिन्छ। यो थाहा पाउनु जरुरी छ किनभने सर्जरी अन्तिम उपाय हो, सर्जरी गरेपछी सधैं सबै ठीक हुन्छ भन्ने हुदैन। सर्जरीका आफ्नै खराब असर, बेफाइदाहरु हुन्छन्, साथै बेहोस बनाउन प्रयोग गरिने औषधीको छुट्टै बेफाइदा हुन्छन्। सर्जरीका यी सबै फाईदा बेफाइदाहरु विचार गरेर त्यसलाई मेडिकल उपचारका फाईदा बेफाइदासँग तौलेर कुन उपचार गर्नु ठीक हुन्छ भनि निर्णय गर्नुपर्छ। उदाहरणको लागि, पित्तथैलीको पत्थरी (Gall stones) देखिने बितिकै अप्रेसन गरिहाल्नुपर्छ भन्ने छैन। त्यसले तपाईंलाई कुनै समस्या दिइरहेको छैन भने त्यसको उपचार गरिरहनु जरुरी हुदैन।(4) त्यस्तै पाठेघरमा मासु पलाएको रोग (Fibroid uterus) को उपचार पाठेघर काटेर फाल्नु मात्र पक्कै हैन।(5) यस्का विभिन्न उपचार पद्धतीहरु हुन्छन्, ती सबैको फाईदा बेफाइदाहरु बारे आफ्नो चिकित्सकसँग सल्लाह गरेर मात्रै निर्णय गर्नु पर्छ।
मेरो अप्रेसनको खर्च कति लाग्छ?
अप्रेसनको प्रकृति हेरेर खर्च बढीघटी लाग्ने हुन्छ। साथै कस्तो अस्पतालमा अप्रेसन गर्ने हो, त्यो अनुसार पनि खर्च फरक पर्न जान्छ। प्राइभेट क्लिनिकमा र सरकारी अस्पतालमा अप्रेसन खर्चमा आकाश जमिनको फरक पर्ने हुन्छ। तर त्यो अनुसार पाइने सुबिधामा पनि फरक पर्ने हुन्छ। साथै कुनै कुनै अस्पतालमा बढी खर्च गरेर छिटो र बढी सुबिधा लिएर अप्रेसन गराउन मिल्ने व्यवस्था पनि हुन्छ। त्यस्तै धेरै चिरेर गरिने अप्रेसन र थोरै चिरेर दुर्बिन जस्तो यन्त्र छिराएर गरिने अप्रेसन (Laparoscopy) को खर्च पनि फरक फरक हुन्छ। यी सबै कुरा बुझेर आफ्नो खर्च र रोग अनुसार कुन अप्रेसन ठीक हुन्छ भन्ने निर्णय गर्नुपर्छ।
यो अप्रेसन/सर्जरीका फाईदा बेफाइदाहरु के के हुन्?
कुनै पनि अप्रेसनका फाईदा बेफाइदाहरु दुबै हुन्छन्। कुनै अप्रेसनले तपाईंको समस्या सधैंको लागि निमिट्यान्न पार्ने हुन्छ, जस्तै एपेन्डिसाइटिसको अप्रेसन गर्दा तपाईंको एपेन्डिक्स पुरै निकालेर फालिन्छ र त्यो समस्या सधैंको लागि समाधान हुन्छ। तर प्रोस्टेट बढ्ने रोग (BPH) को TURP (एक खालको अप्रेसन) गर्दा कसैकसैमा केही वर्शपछि फेरि अप्रेसन गर्नुपर्ने हुन्छ।(6) साथै हरेक अप्रेसनका आफ्नै खालका खतराहरु हुन्छन्। अप्रेसनपछि सन्क्रमन हुनसक्ने सम्भावना, धेरै रगत बग्ने खतरा, बेहोस बनाउने औषधीको खराब असर जस्ता खतराहरु धेरै थोरै सबै खालका अप्रेसनहरुमा हुन्छन्। अप्रेसनपछिको काटेको घाऊको दुखाइ कति हुने भन्ने पनि अप्रेसन अनुसार फरक हुन्छ। यस्ता खतराहरु बढी उमेरका विरामीहरु, अन्य रोगहरु(मुटु, फोक्सो, म्रिगौला आदिका) पनि भएका विरामीहरुमा देखिने सम्भावना बढी हुन्छ। यी सबै सम्भावित फाईदा र खतराहरुको पूर्ण र सत्य जानकारी पाउनु तपाईंको अधिकार हो। साथै चिकित्सकले पनि विरामीलाई रोग, अप्रेसन र त्यसपछिको परिणाम र अवस्थाको बारेमा झुठो आस्वासन नदिइ साँचो कुरा भन्ने गर्नुपर्छ।
अप्रेसन/सर्जरीको बारेमा जान्नुपर्ने अन्य महत्वपुर्ण कुराहरु-
१) अप्रेसनको दौरान कस्तो प्रकारको बेहोस बनाउने औषधीको प्रयोग गर्ने हो?
अप्रेसनको प्रकृति हेरेर जुन भागमा चिरिने हो त्यहि मात्र लाटो बनाउने वा पुरै बेहोस् बनाउने हो निर्धारन गर्ने गरिन्छ। जस्तै- बच्चा पाउने अप्रेसन(Cesarean Section वा सी.एस.) गर्दा सामान्यतया गर्भवती महिलाको तल्लो भाग मात्र बेहोस बनाइन्छ।(7) यो बारे तपाईंले आफ्नो बेहोसी सम्बन्धी चिकित्सक (एनेस्थेसियोलोजिस्ट) सँग बुझ्नुपर्छ। साथै आफुलाई भएको अन्य रोग, समस्याका बारेमा पनि बेहोसीको चिकित्सकलाई जानकारी गराउनुपर्छ, जस्ले गर्दा बेहोसीको औषधी र प्रक्रियाका कारणले आउन सक्ने खतरालाई कम गर्न मध्दत मिल्छ।
२। अप्रेसनको कति दिनसम्म अस्पताल बस्नुपर्छ? कति दिनपछि दैनिक काम शुरु गर्न सकिन्छ?
यसको बारे तपाईंको अप्रेसन गर्ने चिकित्सकले तपाईंलाई जानकारी गराउनुपर्छ। अप्रेसन पछि के के परिवर्तन महसुस गरिन्छ, कस्तो गाह्रो अवस्था आउनसक्छ, त्यसलाई कम गर्न के के गर्न सकिन्छ भनेर अप्रेसन अगाडि नै चिकित्सकसँग बसेर छलफल गर्नु राम्रो हुन्छ। कुनै कुनै अप्रेसनमा तपाईंको शरीरको कुनै अङ/अङका भाग (आन्द्रा, म्रिगौला, कलेजो आदि) काटेर फाल्नुपर्ने हुन्छ, जस्ले गर्दा अप्रेसनपछिको तपाईंको जीवन पध्दती, खाना, कामकाजमा परिवर्तन आउने वा ल्याउनुपर्ने हुन्छ। यी सबै कुरा बारे पहिले नै सल्लाह गरेर त्यसको लागि मानसिक रुपमा तयार भएर बस्यो भने राम्रो हुन्छ।
३। अप्रेसनको अगाडि रक्सी चुरोट खान छोड्नुपर्ने हुन्छ। साथै कुनै कुनै खाइरहेको औषधी रोक्नुपर्ने वा परिवर्तन गर्नुपर्ने हुन्छ। यस बारे पनि आफ्नो चिकित्सकसँग बुझ्नु जरुरी हुन्छ।
विभिन्न अप्रेसनहरुको बारेमा भिडियो सहित उपयोगी जानकारी पाउनको लागि यो वेबसाइट हेर्नुहोस्-
यो वेबसाइटबाट लिइएको एउटा भिडियो:
Nice one again.
ReplyDeletethank you.
ReplyDeletewow what greatful article.yo ekdam important ra hami sabai le janna parne kura ho.information ko lagi thanks doctor
ReplyDeleteU r welcome maina. Thanx for the response.
ReplyDelete