Tuesday, January 25, 2011

जाडोमा जोर्नीका केही कुराहरु



जाडोको मौसम चलिरहेको छ। जाडोको बेलामा हातखुट्टाका जोर्नीहरु दुख्ने, सार्हो हुने आदि समस्या धेरै नै देखिन्छन। त्यसैले आज यसबारे केही कुरा लेख्दैछु।

जोर्नी (Joint) भनेको के हो?
दुई वा दुई भन्दा बढी हाडहरु जोडीएको ठाउँलाई जोर्नी (Joint) भनिन्छ। यसले शरीरका भागहरु चलाउनलाई मद्धत मिल्छ। जोर्नीमा जोडीएका हाडहरुको सतहमा नरम खालको कुर्कुरे हाड (Cartilage), जोर्नीमा हाडहरु चल्दा घर्सण कम गर्नको लागि तेल जस्तो तरल पदार्थ साइनोभियल फ्लुड (Synovial fluid), हाडहरुलाई समाएर राख्ने तन्तु लिगामेन्ट (Ligament) आदि भागहरु हुन्छन्। जोर्नीले राम्ररी काम गर्न यी सबै भागहरु स्वस्थ अवस्थामा हुनु जरुरी हुन्छ। 
चित्र हेर्नुहोस्:


जोर्नी दुख्नु भनेको के हो?
जोर्नी दुख्नु भनेको एउटा लक्षण हो यो सयौ रोगहरुमा देखिने गर्छ। त्यस्तै जोर्नी दुख्नु अर्थात आर्थ्राल्जिया (Arthralgia) जोर्नी रातो हुनु, सुन्निनु, तातो हुनु अर्थात आर्थ्राइटिस (Arthritis) भनेको फरक फरक कुराहरु हुन। बढी प्रयोग भएर जोर्नीमा भएका हाडहरुका सतहहरु खियिएर जोर्नी दुख्ने अर्थात ओस्टिओ आर्थ्राइटिस (Osteoarthritis), शरीरको रोग प्रतिरोधात्मक क्षमताले चाहिने भन्दा बढी वा अनावश्यक क्षेत्रमा काम गरेर जोर्नी दुख्ने जस्तै रुमाटोइड आर्थ्राइतिस (Rheumatoid Arthritis), एस.एल.इ. (SLE), जोर्नीको सन्क्रमण भएर जोर्नी दुख्ने, सुन्निने जस्तै सेप्टिक आर्थ्राइटिस (Septic Arthritis), शरीरमा हुने रसायनिक प्रक्रियाको गड्बढीको कारणले जोर्नी दुख्ने, सुन्निने जस्तै गाउट (Gout), सिउडो गाउट (Pseudogout) जस्ता विभिन्न कारणले विभिन्न रोगहरुमा जोर्नी दुख्ने, सुन्निने, अररो हुने समस्या देखिन्छन्। त्यस्तै रोगको प्रकृति अनुसार जोर्नीको समस्या सँगसंगै अरु लक्षणहरु पनि देखिने गर्छन्। जस्तै ज्वरो आउने, अनुहारको छाला रातो हुने, फोक्सो, म्रिगौला जस्ता विभिन्न अङहरुमा असर पर्ने हुन्छ।
जोर्नी दुख्ने समस्या धेरै नै देखिने भएपनि प्राय:जसो यी समस्याहरु आत्तिनु पर्ने खालको भन्दा पनि अत्यास लगाउने खालका हुन्छन्। अर्थात यिनका पछाडि डराउनु पर्ने खालको ठुलो रोग नभएर साधारण रोगहरु नै बढी हुन्छन्।

जोर्नी दुख्ने समस्या भएमा के गर्ने?
जोर्नी दुख्ने समस्या पाको उमेरका बुढाबुढीहरुलाई मात्र नभै सबै उमेरमा देखिन सक्छ। जोर्नी दुख्ने समस्या सुरु भएपछी आफुलाई जोर्नी दुख्ने मात्रै हो वा जोर्नी सुन्निने, जोर्नी माथिको छाला रातो, तातो हुने, जोर्नी अररो हुने हुन्छ बिचार गर्नुपर्छ। प्राय: गम्भिर समस्याहरुमा जोर्नी दुख्ने (Arthralgia) मात्रै नभै जोर्नी रातो, तातो हुने, सुन्निने (Arthritis) पनि हुन्छ। त्यस्तै अरु लक्षणहरु पनि देखिएका छन् या छैनन् ख्याल गर्नुपर्छ। साथै सधैंभरी लगातार दुखिरहने हो या कुनै निस्चित समय जस्तै विहान, राती, काम गर्दा, आराम गर्दा दुख्ने हो ध्यानमा राख्नुपर्छ। जोर्नी दुखाइ कत्तिको बढी छ, अन्य लक्षणहरु छन् छैनन् त्यो विचार गरेर चिकित्सकलाई कति चाँडो भेट्ने भन्ने निर्णय गर्न सकिन्छ। तर पहिलो पटक यो समस्या भएको हो भने चिकित्सकसँग भेटेर के कारणले भएको हो जाँच गर्ने (आवस्यक्ता अनुसार रगत जाँच, एक्स-रे आदि), सल्लाह गर्ने गर्नुपर्छ।
जोर्नी दुखाइको उपचार रोग अनुसार साधारण दुखाइको औषधी (Painkillers/ Analgesics), फिजिकल थेरापी (Physical Therapy), स्टेरोइड (Steroid), Disease Modifying Anti-Rheumatic Drugs/ DMARDs (मेथोट्रेक्सेट/ Methotrexate, सल्फासालाजिन/ Sulfasalazine आदि) देखि लिएर अप्रेसन (पुरै जोर्नी नै परिवर्तन गर्ने, जोर्नीको खराब भएको भाग परिवर्तन गर्ने आदि) हुन्छन्। त्यसैले आफ्नो जोर्नी दुखाइको कारण के हो, कुन रोगले गर्दा यो समस्या भएको हो आफ्नो चिकित्सकसँग छलफल गरी उपयुक्त पद्धती अप्नाउनुपर्छ। 

जोर्नी दुखाइसंगै निम्न केही लक्षणहरु पनि छन् भने त्यसलाई गम्भिरतापुर्वक लिइ तुरुन्त डक्टरलाई देखाउनुपर्छ।
१.      उमेर ५० वर्श भन्दा बढी वा १७ वर्श भन्दा कम भएमा,
२.      उपचार गर्दा/ औषधी खाँदा पनि ठीक नभएमा,
३.      शरीर दुब्लाउदै गएमा/ विगत ६ महिनामा १० केजी भन्दा बढी तौल घटेमा,
४.      ४-६ हफ्ता भन्दा बढी लगातार जोर्नीहरु दुखिरहेमा,
५.      रातको समयमा वा आराम गरेको बेला जोर्नीहरु दुख्ने भएमा,
६.      लगातार ज्वरो आइराख्ने भएमा (१००.५ डिग्री फरेन्हाइट भन्दा बढी) आदि

जोर्नी दुखाइ को लागि केही घरेलु उपचारहरु:
१.      दुखेको जोर्नीमा तेलले वा दुखाइको औषधी भएको मलमले मालिस गरेमा दुखाइ कम हुन्छ।
२.      तातोपानी/ दुधमा बेसार मिसायेर दैनिक खाने गरेमा जोर्नी दुख्ने समस्या धेरै काम हुन्छ।
३.      गोमुखासन योगा जोर्नी दुखाइको समस्या को लागि धेरै राम्रो हुन्छ।
४.      जोर्नी दुख्यो भनेर आरम गर्नु भन्दा सके जति चलाउने, कसरत गर्ने गर्नुपर्छ। दैनिक कसरत गर्नाले जोर्नीहरुको लचक्ता बढ्नुको साथै हाडहरु पनि बलियो हुन्छ।
५.      पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।
यी घरेलु उपचारका साथै अन्य थुप्रै उपाय, सुझावहरु पत्रपत्रिका, ईन्टरनेट आदिमा पढ्न पाइन्छ। तर यी सबै आफुमा लागु गर्नु अघि आफ्नो चिकित्सकसँग आफ्नो समस्याको बारेमा के कारणले यस्तो भएको हुनसक्छ, के के उपचार पद्धती अप्नाउन सकिन्छ, के के सावधानी अप्नाउने भनेर राम्रोसँग छलफल गर्नुपर्छ। जोर्नी दुख्ने समस्या धेरै नै बल्झीरहने हुनाले यस्ता विरामीहरुमा दुखाइको औषधी/ पेनकिलर (Painkiller/ Analgesic) बढी प्रयोग गर्ने र त्यसले गर्दा नराम्रो असर पर्ने हुनसक्छ।

बाथ भनेको के हो?
नेपालीमा 'बाथ' भनेर सबै किसिमको जोर्नी दुख्ने समस्यालाई जनाइन्छ। त्यसैले 'बाथ' भन्नाले रोग भन्दा पनि जोर्नी दुख्ने कुनै पनि समस्या भनेर बुझ्दा हुन्छ।

युरिक एसिड (Uric Acid) भनेको के हो?
युरिक एसिड भनेको शरीरमा प्रोटिनको रसायनिक प्रतिक्रिया हुँदा खेरी निस्कने एक प्रकारको पदार्थ हो। जोर्नीहरु (विशेश गरि खुट्टाको औलाका जोर्नीहरु) मा युरिक एसिडको मात्रा बढी भएर त्यस्का लवण (salt) हरु क्रिस्टलाइज (crystallize) भएर जोर्नीहरुमा जम्मा भई जोर्नीहरु दुख्ने, सुन्निने, रातो हुने रोगलाई गाउट (Gout) भनिन्छ। त्यसैलाई नेपालमा जनबोलीमा 'युरिक एसिड' भनिन्छ। रगतमा युरिक एसिडको मात्रा बढ्ने र गाउट हुने समस्या जति एक अर्कासँग सम्बन्धित छन् भनेर तपाईं हामी सोच्छौ, सत्य कुरा त्यसो हैन। रगतमा युरिक एसिडको मात्रा धेरै भए पनि कतिमा गाउटको समस्या देखिदैन भने कति गाउटको रोगीहरुको रगतमा युरिक एसिडको मात्रा सामान्य नै हुन्छ। त्यस्तै गाउट रोग छ छैन भनेर थाहा पाउन गर्नुपर्ने जाँच रगतमा युरिक एसिडको मात्रा हेर्ने (जुन हामीहरुमा प्रचलित छ) नभएर दुखेको जोर्नीमा युरिक एसिडको क्रिस्टल (Crystal) छ छैन भनेर हेर्ने हो, जुन हामीहरु सायदै गर्छौ होला। 

जोर्नी दुख्ने विभिन्न रोगहरुको बारेमा वृस्तित रुपमा पछिका लेखहरुमा चर्चा गर्नेछु। 

स्रोतहरु:


No comments:

Post a Comment